सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका वडा नं. ५ द्वारा आयोजित “दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता–२०८२” को उपाधिका लागि आयोजक वडा ५ (ए) र वडा ७ बीच प्रतिस्पर्धा हुने भएको छ।
आज भएको सेमिफाइनल खेलमा वडा ४ लाई पराजित गर्दै वडा ५ (ए) फाइनलमा प्रवेश गरेको हो। त्यस्तै, अर्को सेमिफाइनलमा वडा ७ ले वडा ८ लाई हराउँदै आयोजक वडा ५ (ए) सँगको उपाधि भिडन्त तय गरेको छ।
फाइनल खेल भोलि ऐसेलुखर्कमा हुने आयोजकले जनाएको छ। यसैबीच, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा वडा ४ ले वडा ८ लाई सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार रुपैयाँ, दोस्रो हुनेलाई २५ हजार रुपैयाँ र तेस्रो हुनेलाई १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।
उक्त प्रतियोगिता २०८२ साल फागुन ६ गतेदेखि सुरु भएको हो। खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धन गर्नुका साथै युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

