Harsamaya
फागुन ६ : कांग्रेसको १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक देखि माल्दिभ्समा राष्ट्रपति र संसदीय चुनाव एकै दिन गर्ने तयारीसम्म
ग्राफिक्स: हर समय/Har Samaya

केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित गर्दै पार्टीका उम्मेदवार र नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् ।नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पुर्‍याउन सक्रिय हुन आग्रह गरेका हुन् ।

काठमाडौं फर्किने क्रममा बिर्तामोडस्थित होटल हेभनमा आयोजित छलफलमा अध्यक्ष ओलीले जनस्तरमा फैलिएका भ्रम चिर्न घर–घर पुगेर प्रत्यक्ष संवाद गर्नुपर्नेमा जोड दिए।

कांग्रेसले सार्वजनिक गर्यो १० बुँदे प्रतिज्ञा पत्र : नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बुधबार कांग्रेसले जनकपुरधामबाट १० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।

पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेश प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण गरिएको हो।

सुदूरपश्चिमलाई स्विजरल्याण्ड होइन, आफ्नै पहिचानले जोड्छौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमलाई समृद्ध र आत्मनिर्भर बनाउने दाबी गरेका छन् । रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम बनेको देश बनाउने सपना पूरा गर्ने शक्ति आफ्नो पार्टीसँग मात्र रहेको बताएका हुन् ।

उनले आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए । ‘खल्तीमा पैसा नभएको, विपन्न गरिबले शिक्षा पाउनुपर्यो, स्वास्थ्य पाउनुपर्यो,’ उनले भने, ‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, अब डेढ वर्षमै बन्नुपर्यो, त्यो हो हाम्रो एजेन्डा ।’

प्रश्न गर्दा राज्यको गोलीबाट मारिनुपर्ने अवस्थाको अन्त्य गर्छौ : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रश्न गर्दा भाद्र २३ गते राज्यको गोलीबाट मारिए जस्तोे अवस्था अब देशमा आउन नदिने प्रतिज्ञा गरेका छन्। बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अब युवकले प्रश्न गर्न पाउने भन्दै कसैले सिंहदरबार जलाउन जानु नपर्ने धारणा राखे ।

उनले भने ,‘हामीले गरेको यो प्रतिज्ञा पूरा नहुँदा प्रश्न र आलोचना गर्न राम्रोसँग पाउँछ । अब प्रश्न गर्दा कुनै युवकले भदौ २३ मा राज्यको गोलीबाट मारिएको जस्तो मर्नुपर्दैन यो हाम्रो प्रतिज्ञा हो । कसैले सिंहदरबार जलाउन जानु पर्दैन यो हाम्रो प्रतिज्ञा हो । त्यस्तो नेपाल बनाउँछौँ ।’

बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु : काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुधबार बनेपाको दूरसञ्चार कार्यालय नजिकै बागमती प्रदेश ०१–०४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको हो ।

दुर्घटनापछि स्थानीयहरुले बनेपामा प्रदर्शन गर्दै ठक्कर दिने टिपरमा आगजनी गरेका थिए । प्रदर्शनपछि केहीबेर अरनिको राजमार्ग अवरुद्ध भएको थियो ।

विभिन्न देश पठाउने भन्दै ४४ लाख ठगी गर्ने तीन जना पक्राउ : प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका-३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ र खोटाङ केपिलासगढी गाउँपालिका-२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 

माल्दिभ्समा राष्ट्रपति र संसदीय चुनाव एकै दिन गर्ने तयारी : माल्दिभ्स सरकारले खर्च घटाउने उद्देश्यसहित राष्ट्रपति र संसदीय चुनाव एकै दिनमा सञ्चालन गर्ने सम्भावना परीक्षण गर्न आगामी अप्रिलमा राष्ट्रव्यापी जनमतसङ्ग्रह गर्ने निर्णय गरेको छ।

राष्ट्रपति मोहम्मद मुइज्जुले अप्रिल ४ का लागि जनमतसङ्ग्रह घोषणा गरेका छन्र्नु । प्रस्ताव स्वीकृत भएमा आगामी संसदीय निर्वाचन अगाडि सारिनेछ र हालको संसदीय कार्यकाल करिब पाँच महिना छोट्याइनेछ। हालको कार्यतालिका अनुसार संसदीय चुनाव सन् २०२९ को सुरुमा र राष्ट्रपति चुनाव सेप्टेम्बर २०२८ मा हुने तय छ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update