Harsamaya
इन्द्रावती गाउँपालिकामा दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता सुरु
“दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता–२०८२” सुरु ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका वडा नं. ५को आयोजनामा आजदेखि “दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता–२०८२” सुरु भएको छ। प्रतियोगिता २०८२ साल फागुन ६ गतेदेखि ८ गतेसम्म तीन दिन सञ्चालन हुने जनाइएको छ।

खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धन गर्नुका साथै युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका ९ टिमले दर्ता गराएर सहभागिता जनाएका छन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष शशिनाथ आचार्यले खेललाई मर्यादित र अनुशासित बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए। 

उनले युवाहरूलाई खेलले एकताबद्ध र सक्रिय बनाउने उल्लेख गर्दै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताले खेलाडीको तन–मनसँगै आत्मविश्वाससमेत बलियो बनाउने धारणा राखे।

सबैको मन जित्ने गरी खेलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्न खेलाडीहरूलाई आग्रह गर्दै उनले खेलकुद क्षेत्रको विकासका लागि सबै पक्ष लाग्नुपर्ने बताए।

प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार रुपैयाँ, दोस्रो हुनेलाई २५ हजार रुपैयाँ र तेस्रो हुनेलाई १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update