Harsamaya
हायातको क्यासिनो लुट प्रकरण : १० जना पुर्पक्षका लागि थुनामा
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - हायात रिजेन्सी अन्तर्गत सञ्चालित ‘क्यासिनो प्राइड’मा भएको लुटपाट प्रकरणमा संलग्न आरोपित १० जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

मंगलबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतले मुख्य प्रतिवादी दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पासहित १० जनालाई थुनामा पठाउने आदेश दिएको हो।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा उनीहरूले क्यासिनोबाट करिब १४ करोड रुपैयाँ लुटेको आरोप छ। पक्राउ परेकामध्ये दावा शेर्पा, रञ्जित खड्गी, दोर्जे शेर्पा, शुक्रराज घिसिङ, मनोहरी पौडेल, करण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार पक्राउ परेका सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव र डाँकाचोरी मुद्दामा अभियोजन गरेको छ।

साथै उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update