Harsamaya
काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले खोले बैंक खाता
निर्वाचन आयोग ।

काठमाडौं - संघीय राजधानी काठमाडौंका आधाभन्दा बढी उम्मेदवारले हालसम्म निर्वाचन प्रयोजनका लागि बैंक खाता नखोलेको पाइएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षित बैंक खाता खोलेको विवरण प्राप्त भएको काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । 

निर्वाचन आयोग ले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यम प्रयोग गर्न नपाउने स्पष्ट निर्देशन दिएको छ। निर्वाचन आचारसंहितामै सो व्यवस्था उल्लेख भए पनि आधाभन्दा बढी उम्मेदवारले अझै खाता नखोलेका हुन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा छुट्टै बैंक वा वित्तीय संस्थामा खाता खोली सोही खातामार्फत कारोबार गर्नुपर्ने व्यवस्था छ। यस विषयमा आइतबार फेरि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको उनले बताए । 

आयोगले आवश्यक ठानेमा खर्चको बिल–भरपाई तथा बैंक खाताको विवरण पेस गर्नुपर्ने व्यवस्था पनि रहेको छ। भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि रु ३३ लाखसम्म खर्च गर्न पाउने प्रावधान रहेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update