Harsamaya
मतपत्र छपाइ ४० दिनमै सकियो
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ।

भक्तपुर - भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ कार्य सम्पन्न गरेको जनाएको छ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार निर्वाचन आयोगले दिएको जिम्मेवारीअनुसार प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र सोमबार साँझसम्म छापिसकिएको हो। ४२ दिनको कार्यतालिका रहे पनि ४० दिनमै काम सम्पन्न गरिएको बताइएको छ।

अब सबै मतपत्र प्याकेजिङ गरेर सम्बन्धित प्रदेशहरूमा ढुवानी गरिनेछ। आगामी १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउने लक्ष्य राखिएको छ।

केन्द्रले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र छापेर विभिन्न स्थानमा पठाइसकिएको छ भने समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र जिल्लामा पठाउने काम जारी रहेको जनाइएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको र बाँकी प्रदेशमा पनि छिट्टै पुर्‍याइने केन्द्रले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update