काठमाडौं - प्रेस काउन्सिल नेपालले चितवन निर्वाचन क्षेत्र नम्बर ३ को नतिजासम्बन्धी सामग्री प्रकाशन गरेको भन्दै अनलाइन पोर्टल सेतोपाटी डटकम विरुद्ध कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
आइतबार सेतोपाटीले ‘चुनावी विश्लेषण’ शीर्षकमा मत सर्वेक्षणको शैलीमा उम्मेदवारको नाम किटान गर्दै ‘जित्नेछिन्’ भन्ने आशयसहित समाचार सम्प्रेषण गरेको भन्दै काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
यस विषयमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) तथा निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाअनुसार कारबाही प्रक्रिया प्रारम्भ गरिएको काउन्सिलले जनाएको छ। आजै निर्वाचन आयोगले कारबाहीका लागि काउन्सिललाई पत्राचार गरेको थियो।
निर्वाचन आचारसंहिता उल्लंघन भएमा निर्वाचन आचारसंहिता, २०८२ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुन सक्ने काउन्सिलले स्मरण गराएको छ।
सोमबार जारी प्रेस विज्ञप्तिमा काउन्सिलले निष्पक्ष निर्वाचन र मतदाताको विवेकलाई आमसञ्चार माध्यमले सम्मान गर्नुपर्ने उल्लेख गर्दै मतदातालाई प्रभाव पार्ने किसिमका विश्लेषण/मत सर्वेक्षण सामग्री प्रकाशन नगर्न सबै सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।


