काठमाडौं - बंगलादेशको प्रधानमन्त्रीका रूपमा तारिक रहमानको सपथग्रहण समारोहमा भारतको प्रतिनिधित्व लोकसभा सभामुख ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले गर्ने भएका छन्।
भारतको विदेश मन्त्रालय र बीएनपी (बङ्गलादेश नेसनलिस्ट पार्टी)को सञ्चार शाखाले यसलाई औपचारिक रूपमा पुष्टि गरेका छन्।
भारतीय विदेश मन्त्रालयको विज्ञप्तिअनुसार,‘लोकसभा सभामुखको सहभागिताले भारत र बङ्गलादेशका जनताबीचको गहिरो र स्थायी मित्रतालाई रेखांकित गर्दछ र लोकतान्त्रिक मूल्यहरूप्रति भारतको अटुट प्रतिबद्धता पुष्टि गर्छ।’
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बीएनपी अध्यक्ष तारिक रहमानलाई फोनमार्फत बधाई दिएका छन्।
तारिक रहमानको नेतृत्वमा बीएनपीले हाल सम्पन्न तेह्रौँ संसदीय निर्वाचनमा भारी बहुमत प्राप्त गरेको छ र उनी देशको नयाँ प्रधानमन्त्री बनेका हुन् ।
सपथग्रहण समारोहमा सहभागी हुन बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले १३ देशका सरकार प्रमुखलाई निमन्त्रणा गरेका छन्।
अहिलेसम्म चीन, साउदी अरब, भारत, पाकिस्तान, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया, ब्रुनाई, श्रीलङ्का, नेपाल, माल्दिभ्स र भुटानलाई निमन्त्रणा गरिएको छ।

