काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मतदातासँग नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले मतलाई लगानीको रूपमा लिँदै पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित करारपत्र जारी गरेको हो।
करारपत्रका पाँच प्राथमिकतामा सदाचार र सुशासन, मध्यमवर्गीय विस्तार, सामाजिक सुरक्षा, आर्थिक पहुँच र वित्तीय सेवामा सुधार, र रोजगारी सिर्जना तथा पूर्वाधार विकास समावेश छन्।
पार्टीले १२ लाख नयाँ रोजगारी, १५ हजार मेगावाट विद्युत् क्षमता, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग, र दसवटा राष्ट्रिय महत्वका सिग्नेचर आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ।
करारपत्रअनुसार, पाँच वर्षभित्र प्रतिफल नदिँदा नागरिकले संविधान, कानुन र सामाजिक करारअनुसार राजनीतिक जिम्मेवारी लाग्ने व्यवस्था गरिएको छ। साथै, विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकार सुनिश्चित गर्ने वाचा पनि गरिएको छ।


