सिरहा - नेकपा एमाले सिरहामा आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा दुई पूर्व सांसदसहित पाँच दर्जनभन्दा बढी नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
शनिबार गोलबजारमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।
पार्टी त्याग गर्नेहरूमा पूर्वसांसद जानकी राम, निवर्तमान सांसद सम्झना थपलिया, जिल्ला कमिटी सचिवालय सदस्य तथा उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज फूलेश्वर नायक, उद्योग व्यवसायी महासंघ सिरहाका अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्ष्मण यादव र गोलबजार–९ का वडा कमिटी सदस्य बिरेन्द्र कुमार सिंहलगायत रहेका छन्।
निवर्तमान सांसद सम्झना थपलियाले पत्रकार सम्मेलनमा विज्ञप्ति वाचन गर्दै पार्टीभित्र स्वेच्छाचारिता बढ्दै गएको, व्यक्तिवादी कार्यशैली हाबी भएको, विधि–पद्धति र सिद्धान्तबाट विचलन देखिएको तथा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाइन्।
‘पार्टीलाई सही मार्गमा ल्याउन बारम्बार रचनात्मक सुझाव दिँदासमेत नेतृत्वबाट कुनै सुनुवाइ भएन । इमान्दार कार्यकर्तालाई निरुत्साहित गर्ने र विचारभन्दा व्यक्तिको वर्चस्व स्थापित गर्ने प्रवृत्तिका कारण हामी बाध्य भएर यस्तो निर्णयमा पुगेका हौं,’ विज्ञप्तिमा उल्लेख छ।
उनीहरूले विशेष रूपमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेश प्रदेश संयोजक लीलानाथ श्रेष्ठप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
श्रेष्ठ हाल सिरहा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत हुन्। उनीहरूको आरोप छ कि नेतृत्वको एकल निर्णय शैली र स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीमा बस्न नसक्ने अवस्था सिर्जना भएको हो।
राजनीतिको मूल उद्देश्य पद र शक्ति नभई जनताको हित, सुशासन र नैतिकता हुनुपर्ने उल्लेख गर्दै उनीहरूले अब स्वच्छ, उत्तरदायी र परिवर्तनमुखी राजनीतिक यात्रामा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, गोलबजार नगरपालिका–१० का वडा संयोजकसहित धर्मपुर गाउँका चार दर्जनभन्दा बढी नेता–कार्यकर्ताले पनि शनिबार नै पार्टी परित्यागको घोषणा गरेका छन्। उनीहरूले नयाँ अनुहारलाई प्राथमिकता दिँदै पुराना र सक्रिय कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति मौलाएको आरोप लगाएका छन्।
यसअघि पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै दर्जनौं नेता–कार्यकर्ताले एमाले त्याग गरिसकेका थिए। पछिल्लो सामूहिक राजीनामाले सिरहामा एमालेभित्रको विवाद सतहमा आएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
- राहुल राय

