मोरङ - नेपाली कांग्रेस मोरङले पार्टीभित्र देखिएको विवाद समाधान गरि अघि बढ्नुपर्ने जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्लाका उपसभापति तथा महासमिति सदस्य नागेश कोइरालाले पार्टीको एकता, संस्थागत मर्यादा र जनविश्वास जोगाउन सबैको दायित्व भएको उल्लेख गरेका छन् ।
अहिलेको अवस्थामा देखिएको विवाद समाधान गरि सबैलाई पार्टीको एकतामा बाध्न सक्नुपर्नेमा जोड दिएका जिल्ला उपसभापति कोइरालाले कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाउने सर्वोच्च लोकतान्त्रिक अभ्यास हुनुपर्ने उल्लेख गरे ।
उपसभापति कोइरालाले भने, ‘यतिबेला पार्टीभित्र एकता चाहेका हौं । जसमा सबैको सहमति र सहभागितामा हुने एकताको महाधिवेशन सबैको अन्तरआत्माको चाहना रहेको छ । जसले पार्टीलाई बलियो, सबल र सक्षम बनाउन अहम भूमिका खेल्नेछ ।’
पार्टीभित्र आजको आवश्यक्ता गुटको विस्तार भन्दापनि एकता, जित हारको राजनीतिबाट टाढा, सहमतिको राजनीति र फरक फरक महाधिवेशन भन्दापनि साझा एकताको महाधिवेशन रहेको उनको भनाई छ ।
त्यसैगरि, मोरङ क्षेत्र नम्बर ६ ‘ख’ का सभापति मधुबाबु तिवारीले विवाद समाधान नगरि अघि बढाइएको दुई वटा महाधिवेशन प्रक्रियाले समस्या समाधान गर्नुको सट्टा पार्टीभित्र समानान्तर संगठन, नेतृत्व र वैधानिकता दाबी सिर्जना गर्ने दाबी गरे।
पार्टीभित्रको पछिल्लो घटनाक्रमले तल्लोतहमा असन्तुष्टि बढ्दै गएको बताएका तिवारीले पार्टीको एकता, लोकतान्त्रिक मूल्य मान्यता, संस्थागत मर्यादा र ऐतिहासिक विरासतको संरक्षण नै नेताकार्यकर्ताको प्राथमिकतामा रहेको प्रष्टाए।
पार्टीभित्र देखिएका समस्या समाधान नगरि जबरजस्तरुपमा अघि बढिरहँदा विभाजनको जोखिम बढाउने तिवारीको भनाई छ ।
विज्ञप्तिमा महासमिति सदस्य क्षेत्र नम्बर २ बाट गोपालमानसिंह राजभण्डारी, क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि निरञ्जन रिजाल, मोरङ क्षेत्र नम्बर ६का महासमिति सदस्य तथा पूर्वमुख्यमन्त्री केदार कार्की, लगायतले पार्टीलाई विभाजनभन्दापनि एकताको बाटोमा अघि बढाउन नेताहरुले सक्रियतालाई तीव्रता दिन आवश्यक रहेको बताएका छन् ।

