काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।
भारत भ्रमणको दोस्रो दिन भएको भेटवार्तामा नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
भेटमा अर्थमन्त्री वाग्लेले रसुवामा हालै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहत कार्यमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
यस्तै, नेपाल–भारतबीचको दीर्घकालीन मित्रतालाई थप प्रगाढ बनाउने तथा लगानी, ऊर्जा र सम्पर्क सञ्जालका क्षेत्रमा द्विपक्षीय सहकार्य मजबुत बनाउने उपायबारे पनि छलफल भएको थियो।
यसअघि अर्थमन्त्री वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गरेका थिए। भ्रमणको पहिलो दिन उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरी द्विपक्षीय आर्थिक हित र सहकार्यका विषयमा छलफल गरेका थिए।

