काठमाडौँ - राजधानीको सुरक्षा संवेदनशील क्षेत्र मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, हड्ताल वा भेला नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले कडा निर्देशन जारी गरेको छ । विमानस्थल क्षेत्रलाई ‘नो-प्रोटेस्ट जोन’ का रूपमा व्यवहार गरिने स्पष्ट गर्दै प्रशासनले उल्लंघन भए कानुनी कारबाही हुने चेतावनी दिएको हो ।
ईश्वरराज पौडेल ले केही समूह तथा राजनीतिक दलहरूले विमानस्थल क्षेत्रमा प्रदर्शन गर्ने संकेतसहित सूचना र सामाजिक सञ्जालमा आह्वान गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । स्थानीय प्रशासन ऐन, २०२८ अनुसार यस्ता कार्यक्रम गर्न पूर्वस्वीकृति आवश्यक पर्ने भए पनि कसैले अनुमति नलिएको उनको भनाइ छ ।
प्रशासनले हाल निर्वाचन आचारसंहिता लागू भइसकेको सन्दर्भ उल्लेख गर्दै यस्ता गतिविधिमा निर्वाचनविरोधी समूहको घुसपैठ हुनसक्ने जोखिमसमेत औँल्याएको छ । साथै फागुन ३ गते पर्ने महाशिवरात्रि पर्व, धार्मिक आस्थाको सम्मान, र विमानस्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै कुनै पनि प्रकारको भीडभाडजन्य कार्यक्रम नगर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा यात्रुहरूको सहज आवागमन, सार्वजनिक सडक मार्गमा निर्वाध यातायात सञ्चालन तथा सर्वसाधारणको हक-अधिकार सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जनाइएको छ । सामाजिक सञ्जालमार्फत उक्साउने वा प्रेरित गर्ने गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ ।
निषेधित तथा संवेदनशील क्षेत्रमा कानुनविपरीत गतिविधि गरे जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनको स्पष्ट सन्देश छ ।

