Harsamaya
जेनजी विद्रोहपछि बंगलादेशमा पहिलो संसदीय चुनाव
शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान हुँदै ।

एजेन्सी - सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ। करिब १२ करोड ७० लाख मतदाता यस चुनावमा सहभागी हुन योग्य छन्।

बिहीबार बिहानदेखि सुरु भएको मतदान राजधानी ढाका र अन्य सहरमा उत्साहजनक सहभागीता सहित अघि बढेको थियो। करिब ५०० अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निष्पक्ष मतदानको निगरानी गरिरहेका छन्।

बिएनपीका तारिक रहमान आगामी सरकार गठनका प्रमुख दावेदार हुन् भने जमात–ए–इस्लामीको नेतृत्वमा ११ दलीय गठबन्धनले चुनौती दिएको छ। निर्वाचनसँगै राष्ट्रिय चार्टरअन्तर्गत संवैधानिक सुधारबारे जनमतसङ्ग्रह पनि गरिएको छ।

पहिलो पटक मतदान गर्दै २८ वर्षीय मतदाता इकराम उल हकले भने, ‘हामी चुनावलाई पर्वका रूपमा मनाइरहेका छौँ र ठूलो परिवर्तनको आशा छ।’

नतिजा शुक्रबार सार्वजनिक हुने अपेक्षा गरिएको छ, जसले बङ्गलादेशको लोकतान्त्रिक भविष्यको दिशा तय गर्नेछ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update