Harsamaya
रक्सौलबाट अर्बौं हुण्डी कारोबार, प्रशान्तकुमार गुप्ता पुर्पक्षमा
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

पर्सा - पर्सा जिल्ला अदालतले सङ्गठित रूपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिका–१ निवासी प्रशान्तकुमार गुप्तालाई सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार गुप्तालाई पर्सा प्रहरीले गत पुस १७ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि दायर गरिएको मुद्दामा अदालतले उनलाई थुनामा राखेर पुर्पक्ष चलाउने आदेश दिएको हो।

प्रहरीका अनुसार अभियुक्त गुप्ताले भारतको रक्सौलबाट नेपाली रकम हुण्डीमार्फत नेपाल ल्याई विभिन्न बैंक खातामा जम्मा गर्ने, त्यसपछि चेक तथा फोन पे (डिजिटल भुक्तानी माध्यम) मार्फत रकमान्तर गरी रकम लुकाउने वा स्रोत परिवर्तन गर्ने कार्य गरेको आरोप छ।

उक्त मुद्दामा प्रहरीले गुप्ताविरुद्ध रु एक अर्ब ७९ करोड २१ लाख १५ हजार ८०० बिगो दाबी गरेको जनाएको छ। साथै कुल विगो दुई अर्ब ४१ करोड ७८ लाख २३ हजार ३७८ कायम गरिएको छ।

प्रहरीले गुप्ताबाट रु ३३ लाख ५९ हजार २५५ नगद बरामद गरी जफत गरेको जनाएको छ। मुद्दाको थप सुनुवाइ प्रक्रिया अदालतमा जारी रहने जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update