Harsamaya
देश एक्लैले बन्दैन, सबैलाई मिलाएर अघि बढ्छु : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ।

सर्लाही - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश निर्माण कुनै एक व्यक्तिबाट सम्भव नहुने बताउँदै सामूहिक प्रयास र सहकार्यमार्फत अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सर्लाही निर्वाचन क्षेत्र नं ४ अन्तर्गत धन्कौलमा बुधबार आयोजित मतदातासँगको भेटघाट कार्यक्रममा उनले मधेशबाट राष्ट्रिय एकताको सन्देश दिन आफू आएको उल्लेख गरेका छन्। ‘देश एक्लैले बनाउने होइन, सबैको साथ र संकल्पले मात्रै सम्भव हुन्छ,’ उनले भने, ‘यदि एउटै व्यक्तिले देश बनाउने भए इतिहासमै बनिसक्थ्यो।’

सभापति थापाले काठमाडौँ क्षेत्र नं ४ जस्तो आफ्नो स्थापित जनाधार रहेको क्षेत्र छाडेर सर्लाही आएको स्पष्ट पार्दै मधेसका समस्या प्रत्यक्ष बुझ्ने र समाधानतर्फ काम गर्ने उद्देश्य रहेको बताएका छन्। ‘मधेसको पीडा र अपेक्षा नजिकबाट बुझ्न चाहन्छु। उठाइएका मुद्दालाई कार्यान्वयनमा लैजान प्रतिबद्ध छु,’ उनको भनाइ थियो।

उनले पार्टीले आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको उल्लेख गर्दै देशव्यापी समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्रीको जिम्मेवारी नपाए पनि सर्लाही–४ को विकासमा निरन्तर सक्रिय रहने उनले बताएका छन्।

सभापति थापाले आफूलाई औपचारिक पदभन्दा पनि जनतासँग नजिकको सम्बन्धमा जोड्न आग्रह गरेका छन्। ‘मलाई नेता वा माननीयभन्दा आफ्नै परिवारका सदस्यझैँ व्यवहार गर्नुहोस्,’ उनले भने, ‘आज म मत माग्दै आएको छु, भोलि तपाईंहरूले मसँग अधिकार माग्न सक्नुहुन्छ।’

समस्या समाधानलाई प्रभावकारी बनाउन सर्लाही–४ र काठमाडौँ दुवै स्थानमा सम्पर्क कार्यालय सञ्चालन गर्ने योजना रहेको पनि उनले जानकारी दिएका छन्।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update