Harsamaya
पुँजीगत खर्च न्यून, सार्वजनिक खर्च मितव्ययी बनाउने र राजस्व परिचालन सुदृढ गर्ने सरकारको नीति
अर्थ मन्त्रालय ।

काठमाडौं – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार चालु आवका लागि विनियोजित कुल बजेटको करिब एक तिहाइ मात्र खर्च भएको छ भने पुँजीगत खर्च अपेक्षित स्तरमा पुगेको छैन।

मन्त्रालयका अनुसार, चालु आवका लागि कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म रु ६ खर्ब ९० अर्ब खर्च भएको छ। चालु खर्च ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थामा ४०.९५ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

पूर्वतयारी नभएका र अनुत्पादक साना आयोजनामा रु १ खर्ब १९ अर्ब बजेट स्थगन गरिएको छ। खरिद प्रक्रिया सुरु भएका र औचित्य पुष्ट भएका आधारमा रु ४२ अर्ब २८ करोड फुकुवा गरिएको छ।

प्रतिवेदनमा राजस्व परिचालन सुधार, सार्वजनिक खर्च मितव्ययी बनाउने, सरकारी स्रोतको प्रभावकारी प्रयोग र नयाँ आर्थिक दायित्व सिर्जना नगर्ने नीति समावेश गरिएको छ।

राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनामा स्रोतको अभाव हुन नदिने र बहुवर्षीय आयोजनामा मध्यमकालीन खर्च संरचनाअनुसार मात्र स्रोत स्वीकृत गर्ने व्यवस्था लागू गरिने जनाइएको छ।

साथै, राजस्व प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र करदातामैत्री बनाउँदै स्वेच्छिक कर पालना बढाउने, अनौपचारिक आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा ल्याउने र डिजिटल कारोबारलाई कर दायरामा समेट्ने योजना अघि सारिएको छ।

अर्थ मन्त्रालयले बाँकी अवधिमा बजेट कार्यान्वयन सुदृढ गर्दै स्रोत व्यवस्थापन सुधार, सार्वजनिक खर्च नियन्त्रण र उच्च प्रतिफलयुक्त लगानीमा केन्द्रित हुने लक्ष्य राखेको छ।
 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update