मुस्ताङ- यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो ।
मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिए। मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको सहव्यवस्थापक काफ्लेको भनाइ छ ।
यसअघि जारी सिजनको पहिलो हिमपात कात्तिक १० गते सुरु भएको थियो । योसँगै जारी सिजनमा चौथो पटक हिमपात भएको समितिका सहव्यवस्थापक काफ्ले उल्लेख गरे। यसअघि गएको मङ्गलबार राति मुस्ताङको मुक्तिक्षेत्र र कागबेनीदेखि माथिल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । गएको मङ्गलबार राति मुस्ताङको उच्चलेकमा पनि आंशिक हिमपात भएको थियो ।
यहाँको मुक्तिनाथ क्षेत्रमा हिमपात भएसँगै त्यस आसपासका डाँडाकाँढा र रानीपौवा बजार पूरै हिमपातले सेताम्मे भइसकेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए। केही घण्टा अगाडिदेखि निरन्तर हिउँ परिरहेको र रातभरि परेमा मुक्तिनाथ क्षेत्रका सबै बस्ती हिउँले ढाकिने पर्यटन व्यवसायी सुरज गुरुङको भनाइ छ ।
मुक्तिनाथमा चौथौँ पटक हिमपात भएसँगै मुक्तिनाथ मन्दिर हिउँले ढाँकिएको छ । मन्दिर परिसर, कुण्ड, १०८ धारा र अन्यस्थानमा हिउँ थुप्रिन थालेको छ । मुक्तिनाथमा रातभर हिउँ परेमा दुई फिट बढी हिउँ पर्ने अनुमान छ । मुक्तिनाथमा हिउँ पर्न थालेपछि मुक्तिनाथ पुगेका दर्शनार्थीहरू हिउँले समस्या पार्ने देखिएपछि हतारहतार जोमसोम झर्न थालेका छन् ।
यसैगरी मुस्ताङको कागबेनीदेखि तलको घरपझोङ र थासाङ गाउँपालिकामा पनि उच्च लेकसहित वस्तीमै आंशिक हिउँ परिरहेको शितोष्ण बागवानी विकास केन्द्रका कर्मचारी अशोक लिम्बूले जानकारी दिए । कर्मचारी लिम्बूले विगत तीन वर्षदेखि तल्लो मुस्ताङमा बस्तीमा हिमपात नभएको उल्लेख गर्दे यसपटक बस्तीमै बाक्लो हिउँ पर्ने छनक देखिएको बताए।
यसैगरी माथिल्लो मुस्ताङमा उच्च लेकमा आशिक हिमपात भइरहे पनि बस्तीमा हिउँ नपरेको एक्याप लोमान्थाङका कर्मचारी सलिना नेपालीले बताए। उच्च लेकमा छिटफूट हिउँ परे पनि बस्तीमा बजोडको हावाहुरी चलिरहेको बताए।
यसअघि गएको मङ्गलबार राति भारी हिमपात हुँदा कागबेनी मुक्तिनाथ र कोरला सडक अवरुद्ध हुन पुगेको थियो । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको डोजरले मुक्तिनाथ र कोरला सडकको हिउँ पन्छ्याएर अवरुद्ध सडक सुचारु गरिएको भए पनि फेरि पुनः हिमपातले मुक्तिनाथ र कोरला सडक अवरुद्ध हुनसक्ने देखिएको छ ।

