एजेन्सी - पाकिस्तानको सुरक्षा बलले दक्षिण - पश्चिमी प्रान्त बलुचिस्तानमा समन्वित आतंकवादी आक्रमणलाई विफल तुल्याउँदा कम्तीमा १४५ जना आतंककारी १७ सुरक्षाकर्मी र ३१ जना सर्वसाधारणको ४० घण्टाको अवधिमा मृत्यु भएको बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले बताएका छन् ।
बलुचिस्तानका मुख्यमन्त्री बुगतीले क्वेट्टामा पत्रकार सम्मेलनमा प्रान्त भरका विभिन्न स्थानमा आतंकवाद विरोधी अभियान र आंकवादी आक्रमणका क्रममा उक्त हताहत भएको पुष्टि गरेका हुन् ।
प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीले प्रान्त भरि धेरै आक्रमण गरेको उल्लेख गर्दै सुरक्षा फौजले तत्काल र निर्णायक प्रतिक्रिया दिएको उनले बताएका छन् ।
बुगतीले यस घटनालाई पाकिस्तानले आतंकवाद विरुद्ध चलाएको युद्ध पछि यति छोटो अवधिमा रेकर्ड गरिएको सबै भन्दा धेरै आतंकवादी हताहत भएको बताएका छन् ।
यसैबीच रक्षामन्त्री ख्वाजा आसिफले आक्रमण पछि बलुचिस्तानमा पुनः शान्ति पुनस्र्थापित भइसकेको उल्लेख गर्दै र सुरक्षा बलले बाँकी खतराहरू हटाउन “मोपिङ अप” अपरेसन गरिरहेको बताएका छन् ।

