धनकुटा- आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले सत्ता लम्ब्याउन चाहने सुशीला कार्कीहरू र जेनजी आन्दोलनबाट बढारिएका ओलीहरू चुनाव हार्ने डरले निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
उनले देश र जनता निर्वाचनमा होमिएको अवस्थामा कसैले पनि संसद् ब्युँताउने वा अहिलेको सत्ता लम्ब्याउने षड्यन्त्र गरे जनताले प्रतिकार गर्ने चेतावनी दिए ।
आज (शनिवार) धनकुटामा आयोजित पार्टीको निर्वाचन परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन् । उनले सुशीला कार्कीहरू जेनजी आन्दोलनको अपहरणकारी भएको र आकस्मिक सत्ता रोहण गरेको भन्दै उनीहरू नियन्त्रित अस्थिरताको पक्षमा रहेको आरोप लगाए ।
जेनजी आन्दोलनमा दमन गरेर र युवाहरूको हत्या गरेका ओलीहरू चुनावबाट बढारिने भयले निर्वाचन भन्दा पनि संसद् पूनःस्थापनातर्फ आँखा लगाएर बसेको भन्दै दुवै अतिवादीहरूको गतिविधि जनताले नजिकबाट नियालिरहेको बताए ।
देशले परिवर्तन र असलस् बदलाव चाहेको भन्दै त्यसको लागि निर्वाचनलाई सङ्घर्षकै रूपमा आफ्नो दलले उपयोग गरेको बताए । उनले यो निर्वाचनमार्फत जनताले नक्कली नायकहरूलाई कहिल्यै पनि उठ्न नसक्नेसरि परास्त गर्नुपर्ने बताए ।
नयाँ र पुराना भन्नेहरूले नक्कली नायक खडा गरेको र जनतामा मिठो भ्रम बाँडेको भन्दै कोही पनि देशभक्त र विकास प्रेमी जनता झुक्किन नहुने साहको मत छ ।
बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङले देशलाई दिशा दिन नसक्ने ठोकुवा गरे । उनले यही तीनै पात्र टेस्टेड क्यारेक्टर भएकोले अब नयाँ र विकल्प दिन्छौँ भन्ने नाममा फेरि जनतालाई ठग्न आउन खोजेको भन्दै सचेत हुन आम जनतालाई अपिल गरे ।
अहिले रास्वपा मा प्रवेश गरेर प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारिएका बालेन पनि नयाँ नभएको र काठमाडौं महानगरमा तीन वर्षभन्दा लामो समय नेतृत्व प्रदान गर्दा असफल भएको बताए । उनले देशकै सबभन्दा जेठो र ठुलो महानगरलाई बालेन ले सही तवरले नेतृत्व प्रदान नगर्दा काठमाडौंको विकास नभएको आरोप लगाए ।
२५ अर्बभन्दा बढी बजेट भएको महानरले पुँजीगत खर्च ५० प्रतिशत पनि पुर्याउन नसक्नु आफैँमा मेयरको असफलता भएको साहको टिप्पणी छ । महानगरले यहाँको शिक्षा र स्वास्थ्यमा उल्लेखनीय योगदान पुर्याउन नसकेको र जनतासँग भारी मात्रामा कर लिएर सुविधा नदिएको भन्दै साहले आलोचना गरे ।
उनले भने,‘काठमाडौं महानगरले जनतासँग करमाथि कर थुपरेको छ, तर बदलामा महानगरवासीलाई केही पनि सुविधा दिन सकेको छैन । वर्षौ २५ अर्बको बजेट आउँछ, तर पुँजीगत खर्च एकदमै न्यून छ । आज युवा र स्वतन्त्र मान्छेले मेयर जित्दा पनि काठमाडौंको मुहार फेरिएन ।’ उनले जनतासँगको सम्बन्ध नै विच्छेद गरेर ‘खोपीको देउता’ भएर बसेको भन्दै साहले उनले महानगरको नेतृत्वमा हुँदा जनताको हितको लागि काम नगरेको आरोप लगाए ।

