स्याङ्जा - अहिलेको निर्वाचन देश बनाउने र जलाउने बिचको प्रतिस्पर्धा भएको नेपाली काङ्ग्रेस नेता धनराज गुरुङले बताएका छन् ।स्याङ्जामा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता भेटघाट बिच नेता गुरुङले फागुन २१ को निर्वाचन देश बनाउने र जलाउने बिचको प्रतिस्पर्धा भएको बताएका हुन् । उनले भने "यो देशमा नेपाली काङ्ग्रेसले पनि धेरै आन्दोलन गरेको छ । तर कुनै पनि आन्दोलनमा देशका संरचना जलाउने र भत्काउने काम गरेको छैन ।
" नेपाली काङ्ग्रेस सधैँ देश निर्माणको पक्षमा भएको उल्लेख गर्दै निर्माण गर्दा समय लाग्ने र भत्काउन समय नलाग्ने बताए । उनले भने "घर भत्काउन धुरीबाट थालिन्छ त्यसैले सबैले देख्छन्, बनाउन जग खनिन्छ त्यो घर तयार नहुँदासम्म कसैको नजर पर्दैन । त्यसैले काङ्ग्रेसले जग खन्छ घरको धुरीमा चढेर भत्काउँदैन ।"
नेपाली काङ्ग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरतराज ढकाल लगायत नेता कार्यकर्तासँग भेटघाटका क्रममा नेता गुरुङले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनले देशको विकास र विनाशको भविष्य निर्धारण गर्ने बताए । " फागुन २१ को निर्वाचन देश विनाश गर्ने र विकास गर्ने बिचको हो, देशको विकास चाहनुहुन्छ काङ्ग्रेसलाई भोट हाल्नुस्, देश विनाश चाहिन्छ भने अरू पार्टी रोज्नुस् ।" उनले भने ।
नेपाली काङ्ग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले काङ्ग्रेसमा कुनै गुट उपगुट नभएको भन्दै काङ्ग्रेसका उम्मेदवार भरतराज ढकाललाई अत्यधिक बहुमतले जिताउन आग्रह गरे। नेपाली काङ्ग्रेस जिल्ला सभापति राजु थापाले देशको जिम्मेवार पार्टी नेपाली काङ्ग्रेस मात्रै भएको उल्लेख गर्दै नेपाली काङ्ग्रेस कमजोर हुँदा देश दुर्घटनामा परेको स्मरण गराउँदै देशका हरेक परिवर्तन काङ्ग्रेसको नेतृत्वमा मात्रै सफल भएको बताए ।
नेपाली काङ्ग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नु भएका भरतराज ढकालले युवाहरूलाई देशमै रोक्न नसक्ने प्रस्ट भिजन नहुँदा पार्टीले उम्मेदवारका रूपमा आफूलाई अगाडि सारेको भन्दै रुख चिन्हमा मतदान गरेर अत्यधिक मतले जिताउन आग्रह गरे । " देशमा रोजगारी नहुँदा सानोतिनो रोजगारीको लागि पनि युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता आजको मुख्य समस्या हो । त्यसको समाधान भनेको यहीँ रोजगारी सिर्जना गर्नु हो । त्यसैको लागि मसँग प्रस्ट भिजन छ ।" उनले भने । "विश्वमा सबैभन्दा धेरै कारोबार हुने क्षेत्र कृषि क्षेत्र हो । गाउँ गाउँमा पुगेका सडकले सहर बाट खाद्यान्न बोक्ने होइन, गाउँ बाट खाद्यान्न बोकेर सहर जानुपर्छ " उनको भनाइ थियो । त्यसको लागि आफ्नो कृषि क्षेत्रको अनुभवलाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

