Harsamaya
सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी
खम्वबहादुर खाति

सुदूरपश्चिम- राष्ट्रियसभा निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा (एमाले) की लिलाकुमारी भण्डारी विजयी भएका छन्। अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन्।

कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

यस्तै महिलातर्फ विजयी एमालेकी भण्डारीले तीन हजार ९८४ मतभार पाइन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६७६ मतभार पाइन्। कुल २२४ मतदाता रहेकामा ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी २२० मतदाताले मतदानमा भाग लिएका थिए।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, प्रदेशसभा सदस्यद्वय नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा र राप्रपाकी खेमादेवी विष्ट, कैलालीको जोशीपुर गाउँपालिकाकी  उपाध्यक्ष रेखा कठरिया मतदानमा अनुपस्थित रहेका थिए। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित दुई सदस्य पदको पदावधि आगामी फागुनमा सकिन लागेकाले यी दुई पदका लागि निर्वाचन भएको हो।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका एक सदस्य निलम्बनमा परेको र अर्का एक सदस्यले राजीनामा दिएका थिए। यस्तै ८८ पालिका तहका प्रमुख, उपप्रमुख÷अध्यक्ष, उपाध्यक्ष गरी १७६ मतदाता छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको चुनावमा गठबन्धन गरेको थियो । 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update