Harsamaya
माघ ९ : गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने देखि बाबुरामले उम्मेदवारी फिर्ता लिएको सम्म
ग्राफिक्सः हर समय/harsamaya

 माघ ११ गते आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

गगनलाई प्रधानमन्त्री बनाउनेः नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीकोरूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् । उनले भने,‘स्पष्ट ,विनम्र,बोल्ड ढंगले सभापति गगन थापालाई सभापतिको रुपमा अगाडि सार्ने निर्णय गरेको छौं ।’ उनले नेपालमा देखिएका प्रधामन्त्रीको उम्मेदवारमध्ये कांग्रेसले प्रस्तावित गरेको उम्मेदवार अब्बल नम्बरका साथ अघिल्लो पङ्तिमा उभिने दाबी गरे ।

डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले आज उम्मेदवारी फिर्ता लिएका हुन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । गोरखा २ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । 

सर्वोच्चमा रेशम चौधरीको रिट: रेशमलाल चौधरीले सर्वोच्च अदालतमा रिट दिएका छन् । आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उनले रिट दर्ता गरेका हुन् । आफ्नो उम्मेदवारी कायम हुनुपर्ने तथा निर्वाचन अधिकृतको निर्णय खारेज हुनुपर्ने मागसहित उनले दायर गरेको रिट सर्वोच्चमा दर्ता समेत भइसकेको छ ।

दुई जनाको मृत्यु: रौतहटको राजदेवी नगरपालिकामा शुक्रबार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई युवकको मृत्यु भएको छ ।बिहान करिब ११:४० बजेको समयमा राजदेवी नगरपालिका वडा नं. १ स्थित पथरा स्कुल नजिकै गौर–पिपरा भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो । गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको द्यच्३०ब्ँ २३७० नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

चार सय २४ जनाको गयो ज्यान: गत वैशाखदेखि हालसम्म देशभर कुल पाँच हजार ९६६ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर चार सय २४ जनाको ज्यान गएको छ भने एक हजार छ सय ४३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर ३८ जना बेपत्ता भएका छन् भने ११ हजार ५३५ परिवार प्रभावित भएका छन् । 

एक तोला सुनको मूल्य तीन लाख बढी पुग्यो: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  बिहीबारको तुलनामा आज प्रतितोला सुन नौ हजार २०० र चाँदी ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल ६ हजार १९० कायम भएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update