Harsamaya
सिंहदरबारको फोहोर पन्छाउँछु: बंशलाल तामाङ
नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङ ।

सिन्धुपाल्चोक - फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ का लागि नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङले काठमाडौंबाट चुनावी अभियानको औपचारिक शुभारम्भ गरेका छन्।

अग्रज व्यक्तित्व तथा कखरा सिकाउने गुरुबाट आशीर्वाद लिएर अभियान सुरु गरेका तामाङले चुनावी कार्यक्रममा सम्बोधन गर्दै चुनाव जितेपछि विकासको मोडल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका विकृति, विसङ्गति र परम्परागत सोचलाई अन्त्य गर्ने बताए।

प्रशासनिक संयन्त्रभित्र मौलाएको बेथिति र भ्रष्टाचारप्रति कडा टिप्पणी गर्दै तामाङले सिंहदरबारमा बसेर हेलम्बु, मेलम्ची, पाँचपोखरी, इन्द्रावती र चौताराका जनताको वास्तविक समस्या नबुझिएको आरोप लगाए। ‘त्यही सिंहदरबारको फोहोर पन्छाउनका लागि जनताले मलाई जिताएर संसदमा पठाउनुपर्छ,’ उनले भने।

उनले राजनीतिको केन्द्रविन्दु जनता भएको उल्लेख गर्दै जनताको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर राजनीति गर्ने स्पष्ट पारे। साथै नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापा भावी प्रधानमन्त्री हुने दाबीसमेत गरे।

प्राकृतिक विपद्‌बाट जनतालाई सुरक्षित राख्नु नै जिम्मेवार राज्यको दायित्व भएको उल्लेख गर्दै तामाङले पूँजीवादी र समाजवादी सोचको सन्तुलनसहितको विकास मोडल आवश्यक रहेको धारणा राखे।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update