Harsamaya
राजेश्वरी माविले सातौँ पटक उचाल्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
इन्द्रावती गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राजेश्वरी माविलाई ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राजेश्वरी माध्यमिक विद्यालयले उचालेको छ। राजेश्वरी माविले ८ स्वर्ण पदक जित्दै लगातार सातौँ पटक च्याम्पियन बन्दै आफ्नो दबदबा कायमै राखेको हो।

उपाधिसँगै राजेश्वरी माविले लगातार छैटौँ पटक रनिङ शिल्ड समेत आफ्नो कब्जामा राख्न सफल भएको छ। प्रतियोगिताको समग्र विजेता बन्दै विद्यालयले नगद तीन लाख रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको छ।

प्रतियोगितामा भिमेश्वरी माध्यमिक विद्यालयले ६ स्वर्ण पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने ऐसेलुखर्क माध्यमिक विद्यालयले ५ स्वर्ण पदकसहित तेस्रो स्थानमा स्थान बनाएको छ।

विजेता तथा सहभागी विद्यालयहरूलाई पुरस्कार वितरण गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सीमित बजेटका बाबजुद राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी आठौँ संस्करणमा पर्याप्त बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । साथै, लगातार उपाधि जित्ने विद्यालयलाई विशेष सम्मान गरिने जानकारी पनि दिए । 

कार्यक्रममा इन्द्रावती–१० का वडाध्यक्ष रामचन्द्र घिमिरेले अनुशासनमा रहेर प्रतियोगिता सम्पन्न भएकोमा सबै खेलाडी, प्रशिक्षक तथा आयोजकप्रति धन्यवाद व्यक्त गरे । प्रतियोगितालाई मर्यादित र स्तरीय बनाउन सबैको योगदान सराहनीय रहेको उनको भनाइ थियो।

त्यस्तै, चण्डेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले सबै खेल एकै स्थानमा सञ्चालन गर्न सकिने रंगशाला निर्माणका लागि स्थानीय तहले पहल गर्नुपर्ने आवश्यकता औँल्याए । 

छात्रा भलिबलतर्फ नवलपुर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेको छ। छात्रा भलिबलतर्फ उत्कृष्ट खेलाडीको उपाधि कञ्चना तामाङ घोषित भएकी छन्। नवलपुर माविले ऐसेलुखर्क माविलाई ‘बेस्ट अफ थ्री’मा पराजित गरेको हो।

छात्र भलिबलतर्फ भने ऐसेलुखर्क माध्यमिक विद्यालयले राजेश्वरी माविलाई ‘बेस्ट अफ थ्री’मै पराजित गर्दै उपाधि हात पारेको थियो। माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा इन्द्रावती गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। प्रतियोगिताअन्तर्गत भलिबल, एथलेटिक्स, दौडलगायत विभिन्न खेल विधामा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। यहाँबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन्।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update