सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकामा ‘७औँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२’ आजदेखि सुरु भएको छ। श्री चण्डेश्वरी माध्यमिक विद्यालयको आयोजनामा सुरु भएको प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले खेलकुद र शिक्षा एक–अर्काका पूरक भएको बताए । उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि किताबी ज्ञानसँगै खेलकुद पनि अपरिहार्य रहेको उल्लेख गर्दै गाउँपालिकाले खेल र शिक्षाको विकासलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र राष्ट्रियताको भावना विकास गराउने बताए । उनले शिक्षा र खेलकुद क्षेत्रको स्तरोन्नतिका लागि पालिकाले योजनाबद्ध रूपमा लगानी गरिरहेको जानकारी दिए ।
त्यसैगरी वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरीले शुभकामना मन्तव्य व्यक्त गर्दै खेलकुदका माध्यमबाट गाउँपालिकाको नाम राष्ट्रिय स्तरमा चिनाउन विद्यार्थीहरूलाई आग्रह गरे । आफू पनि पूर्व खेलाडी भएको नाताले खेलक्षेत्रमा सक्रिय व्यक्तिहरूप्रति उच्च सम्मान रहेको उनले बताए ।
माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा इन्द्रावती गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको छ। प्रतियोगितामा भलिबल, एथलेटिक्स, दौड लगायतका विभिन्न विधाका खेलहरूमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्।
आयोजक विद्यालयका प्रधानाध्यापक शिवराम न्यौपानेका अनुसार गाउँपालिका स्तरीय यस प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।
उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलप्रेमी तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

