काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरूबीच अब दरार र दुरी नराखी पार्टीलाई एकताबद्ध रूपमा अघि बढाइने बताएका छन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएपछि शर्माले फेसबुक लाइभमार्फत प्रतिक्रिया दिएका हुन्।
‘जो बदलिन्छन्, उनीहरूले बदल्न सक्छन् । हामीले पनि अब बदल्ने संकल्प लिनुपर्छ,” शर्माले भने, ‘विशेष महाधिवेशनमा जसले हस्ताक्षर गरे पनि वा नगरे पनि हामीबीच अब दरार र दुरी रहनु हुँदैन ।’
उनले एकथरी नेताहरूले सार्थक हस्तक्षेप गरिसकेको र अब अर्काथरीले पनि हस्तक्षेप गर्ने बेला आएको बताए । शर्माले जेनजी आन्दोलनले उठाएको सुशासनको मागलाई पार्टीले अब आत्मसात गर्ने संकल्प व्यक्त गरे ।
विगतमा भएका कमी–कमजोरीप्रति आत्मालोचना गर्दै त्यसलाई सच्याएर पार्टीलाई नयाँ दिशामा अघि बढाइने उनले बताए ।

