काठमाडौं - एमाले नेता तथा लेखक सरेश नेपालको ‘जेलभित्रका संघर्ष’ पुस्तक लोकार्पण गरिएको छ । बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तक लोकार्पण गरेका हुन् ।
४२औं पिस्कर सहिद स्मृति दिवस पारेर पुस्तक लोकार्पण गरिएको छ । आज भन्दा ४२ वर्ष अघि प्रजातन्त्रका लागि आवाज उठाइरहेका स्थानीयमाथि तत्कालीन सरकारले गोली चलाएको थियो । त्यतिबेला दुई जनाको मृत्यु भएको थियो ।
सोही कारण भन्दै तत्कालीन सरकारले नेपाललाई तीन वर्ष जेल हालेको थियो । नेपालले जेलमा रहेका बेला आफूले भोगेको दुख संघर्षहरूलाई समेटेर पुस्तक लेखेका हुन् ।
अहिलेको समय कठोर संघर्ष र बलिदानबाट प्राप्त भएको उनले बताए । ‘अहिले सिंहदरबार जलाउने नेता हुन खोज्छन्, संसद भवन जलाउनेहरू पनि नेता हुन खोज्छन्, सर्वोच्च अदालत जलाउने पनि नेता हुन्छन् र मान्छेलाई जिउँदै जेल जलाउएर मार्नेहरू पनि लोकप्रिय नेता हुन खोजेका छन्’, उनले भने ।
हातमा ढुंगा पनि नबोकेको, कलम र किताब बाहेक केहीपनि नबोकेको आफूलाई त्यतिबेलाको तानाशाही पञ्चायती व्यवस्थाले विना मुद्दा तीन वर्ष जेल हानेको उनले स्मरण गरे । उनले भने ‘उही दिन म चार चोटी छुटे चार चोटि पक्राउ परे ।’ कलेजको परीक्षा दिन पाउ भनेर पटक पटक अनसन बसेको उनले सुनाए । ‘एकपटक आठ दिन र अर्को पटक १२ दिन अनसन बसे’ उनले भने ।
जेल तोडेर भाग्छ भनेर हतकडी लगाएर माघको चिसोमा विभिन्न जेल पुर्याउने गरेको उनले स्मरण गरे । पढाइ सकेर काठमाडौंमा जागिर गर्न लागेका उनलाई एमाले नेता केशव बडालले पार्टीको आदेश हो भनेर संगठन गर्न भनेपछि पढाइ र जागिर छाडेर गाउँ फर्केको उनले बताए । नेपाल सिन्धुपाल्चोकका दुरदराजमा पुग्ने नेताका रुपमा चिनिन्छन् ।

