काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनबाट भएका निर्णय नै पार्टीका लागि सर्वोपरी हुने दाबी गरेका छन् ।
विशेष महाधिवेशनका निर्णयहरू अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न गरिएको बताए । उनले नेतृत्व परिवर्तनसम्बन्धी आवश्यक सबै कागजात आयोगमा बुझाइसकेको जानकारी दिए ।
उनले भने, ‘विशेष महाधिवेशनले नेतृत्व चयनसम्बन्धी निर्णयसमेत गरेको छ, जसका कारण विद्यमान केन्द्रीय कार्य समिति परिवर्तन भइसकेको छ । नयाँ केन्द्रीय कार्य समितिको विवरण राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ । सोही अनुसार हामीले आयोगमा निवेदन दिएका हौं ।’
थापाका अनुसार कांग्रेस पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन आयोजना गरिएको हो । उनले पार्टी विधानको धारा १५ अनुसार महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय नै अन्तिम र सर्वोपरी हुने स्पष्ट पारे ।
थापाले आयोगमा आवश्यक सबै विवरण तथा प्रमाण बुझाइसकिएको बताउँदै माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेकाले भोलि वा पर्सीसम्म अद्यावधिक प्रक्रिया टुंगिने विश्वास व्यक्त गरे । उनले विशेष महाधिवेशनका निर्णयहरू सार्वजनिक भइसकेको पनि उल्लेख गरे ।
उनले भने,‘हामीले आज निर्वाचन आयोगमा त्यही कुरा हाम्रो विशेष अधिवेशन सम्पन्न भयो र त्यसले लिडरसिप परिवर्तन गरेको छ । केन्द्रीय कार्यसमिति नै नयाँ आएको छ । त्यसलाई अद्यावधिक गरिदिनुहोला भनेर आयोगमा निवेदन लिएर आएका हौं । चाहिने सबै विवरण हामीले बुझाएका छौं । माघ ६ गते उम्मेदवारी मनोनयनको कुरा छ । त्यसैले भोलि ढिलोमा पर्सीसम्ममा अद्यावधिकको काम टुङ्गिन्छ भन्ने विश्वास छ । हामीले सबै तथ्य प्रमाणसहित बुझाएका छौँ । बाहिर पनि सार्वजनिक छन् ।’
त्यस्तै,महामन्त्री प्रदीप पौडेलले कांग्रेस पार्टी विधानले निर्दिष्ट गरेअनुसार चल्नेपार्टी भएको भन्दै सोही अनुसार नै पार्टी चलिरहेको दाबी गरे । विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोज्न सम्भव नुहने उनको भनाई छ ।
उनले भने,‘कांग्रेस पार्टी त विधानले निर्दिष्ट गरेअनुसार चल्ने होला नि त । सोही अनुसार नै पार्टी चलिरहेको छ । विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोजौं भनेर सम्भव हुँदैन ।’

