काठमाडौं - नेपाली राजनीतिक वृत्तमा ठूलो हलचलदेखि लिएर देशका विभिन्न स्थानमा भएका दुःखद घटनासम्म, आजको दिन समाचारका दृष्टिले निकै महत्वपूर्ण रह्यो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गर्यो । यस्तै, देशका विभिन्न जिल्लामा प्रहरी हिरासत, सवारी दुर्घटना र टिपर दुर्घटनामा ज्यान गुमाएका घटनाले जनजीवनलाई स्तब्ध बनायो भने सुनचाँदीको मूल्य वृद्धि, नेप्सेको सामान्य सुधार र बैंक ब्याजदर घट्ने निर्णयले अर्थतन्त्रमा मिश्रित संकेत देखियो । खेलकुद क्षेत्रमा नयाँ संस्था स्थापना हुने तयारीसँगै अन्तर्राष्ट्रिय स्तरमा कङ्गो, थाइल्यान्ड र इरानका घटनाले विश्व समुदायको ध्यान खिचेको छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
राजनीति :- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । बुधबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय सहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो ।
बुधबार जनकपुरधाममा आयोजित मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठिको उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले अपराध हुन नदिन र भएको खण्डमा अपराधीलाई कानुनी दायरामा ल्याउन सरकार कटिबद्ध रहेको बताएका छन् । त्यस्तै बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एकताबद्ध भएर अगाडि बढ्न सकेनाैं भने फेरि दुर्घटनामा पर्न सक्ने भन्दै त्यो घटना नदोहोराउनको लागि अहिलेसम्म २० वटा राजनीतिक दल र समूहहरुसँग एकता भएको बताए ।
घटना :- दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको जनाए । र आजै सुर्खेत को वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको हो । त्यस्तै तानसेन (पाल्पा) को रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना ८ ख ३६५ नम्बरको टिपर दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको हो ।
अर्थ/बाणिज्य :- बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ३ सय १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी एक तोला ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ ।
आज महिनाको अन्तिम दिन बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक १.५२ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको छ । यस दिन फ्लोट इण्डेक्स स्थिर रहेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ । माघ १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.८६ प्रतिशत र संस्थागततर्फ औसत ३.३७ प्रतिशत रहेकोमा माघ महिनाका लागि व्यक्तिगततर्फ ४.६८ प्रतिशत र संस्थागततर्फ औसत ३.३८ प्रतिशत कायम भएको छ । ८ बैंकले पुस महिनाको ब्याजदरलाई नै निरन्तरता दिने भएका छनभने माघका लागी ११ बैंकले ब्याजदर घटाएका छन् । माघ महिनामा प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको हो ।
खेलकुद :- खेलकुद क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यसहित ‘पेसएक्स स्पोटर्स’ नामको संस्था स्थापना हुन लागेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेल क्षेत्रमा रहेको चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्यसहित ‘पेसएक्स स्पोटर्स’ अन्तिम तयारीको चरणमा पुगेको जानकारी गराएको हो ।
अन्य :- पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण १८ जनाको मृत्यु हुनुका साथै ३० भन्दा बढी बेपत्ता भएका छन् भने थाइल्यान्डमा उच्च गतिको रेल परियोजनाअन्तर्गत क्रेन खस्दा रेल लिगबाट खसि दुर्घटना हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ । यसैबीच, इरानमा सरकारविरोधी प्रदर्शनका क्रममा मृतकको सङ्ख्या २,५७१ पुगेको पुष्टि भएको छ र सञ्चार प्रतिबन्धपछि नागरिकहरूले बाहिरका व्यक्तिसँग सीमित सम्पर्क पुनः सुरु गरेका छन् ।
यसरी आजको दिन राजनीति, घटना, अर्थ–बाणिज्य, खेलकुद र अन्तर्राष्ट्रिय घटनाक्रमले एकसाथ चर्चा पाएका छन् । देशभित्रका राजनीतिक निर्णय र घटनाले आम नागरिकमा चासो र चिन्ता दुवै थपेको छ भने आर्थिक सूचक र खेलकुदका पहलले आशा जगाएको छ । उता विश्वका विभिन्न भागमा भएका प्राकृतिक प्रकोप, दुर्घटना र राजनीतिक आन्दोलनले मानव जीवनको संवेदनशील यथार्थ झल्काएका छन् ।

