काठमाडौं - रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोयट्री’ माघ ४ देखि झापाबाट प्रसारण हुने भएको छ ।
यो कवितामा आधारित नेपालको दोस्रो रियालिटी सो हो । यसअघि काठमाडौंबाट पहिलोपटक कविताको रियालिटी शो ‘द पोएट आइडल’ बनेको थियो ।
नेपाली भाषामा कविता लेखिरहेका नयाँ प्रतिभाहरूको पहिचान विस्तारका लागि माई प्लेटफर्मद्वारा निर्माण गरिएको रियालिटी शो ‘मेरो कविताः द रिदम अफ पोयट्री’ का निर्देशन केवल क्षेत्रीले गरेका हुन् भने सहायक निर्देशकका रूपमा पबित्रा राई रहेका छन् ।
डिजिटल अडिसनबाट छानिएका सहभागीहरूमध्येबाट विभिन्न चरणहरू पार गर्दै यतिबेला २५ कविहरू रियालिटी शो का लागि छानिएका छन् ।
कार्यक्रममा यिनै २५ प्रतियोगीहरूबीच प्रतिस्पर्धा हुनेछ । कविहरूको प्रस्तुति जाँच्ने निर्णायकका साथै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कविहरूलाई भोट हाल्न पाउने छन् । २५ बाट हरेक हप्ता दुई जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना ‘मेरो कविताः द रिदम अफ पोयट्री’ को बिजेता बन्नेछ ।
झापा दमकको बेलडाँगीमा छायाङ्कन भइरहेको प्रतियोगिताको निर्णायकमा कविहरू हेमन यात्री र उत्तम तुम्सा लिम्बू, गजलकार सुमन स्मारिका र अज्ञात ददी रहनेछन् । सञ्चारकर्मी सुमन कुरुम्बाङ कार्यक्रम सञ्चालकको भूमिकामा छन् ।

