नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन्। उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन्।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल: कर्णाली प्रदेशका दश जिल्लामध्ये नौ जिल्लाका नेपाली कांग्रेसका सभापतिहरूले औचित्य सकिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका छन् । नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका जिल्ला सभापतिले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता भएको बताएका छन् ।
म्यादी प्रहरीमा आवेदन दिने युवाको भीड: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी भर्ना खुलेसँगै काठमाडौंमा युवाहरूको भीड देखिएको छ । शुक्रबार भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा निर्वाचन प्रहरीको आवेदन दिनका लागि युवाहरू लामो लाइन देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यस पटकको निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने: प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे आज जानकारी गराइएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो ।
खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक: खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको थियो । गत मङ्सिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ०५ प्रतिशतले ऋणात्मक रहेको छभने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ।
दुई महिनामा नौ हजार लाइसेन्स छपाइ: पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो ।
आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति: झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउट घरमा आगलागी हुँदा रु एक करोड ३० लाखबराबरको क्षति भएको छ। दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

