काठमाडौं- ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारहरुको मनोनयन हुँदै छ। आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रियसभामा रिक्त हुन लागेको १९ मध्ये १८ सदस्यका लागि निर्वाचन गरिन लागेको हो। निर्वाचन आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। मंगलबार मतदाता नामावलीमा कुनै दाबीविरोध भए/नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक भइसकेको छ।
आयोगका अनुसार यही पुस २४ गते उमेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उमेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १९ सदस्यको पद रिक्त हुँदै छ । त्यी मध्ये १८ पदमा निर्वाचन र एक पद मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन्।

