काठमाडौं- नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ। राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन बैठक बोलाएकवो हो।
पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो । यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँगको चुनावी तालमेललगायत विषय र उमेदवारको विषय टुंगो लगाउने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
सोमबारको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायत दलहरूसँग पार्टीको शीर्ष तहबाट छलफल भइरहेकाले मंगलबार बैठक बसेर निर्णय लिने निष्कर्ष निस्किएको प्रवक्ता महतले बताएका थिए ।
राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूसँग छलफल गरिरहेका छन् ।

