 
                                                            बागलुङ - यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार बराबरको सुन्तला उत्पादन भएको छ। उत्पादनमा केही गिरावट आए पनि किसानले गत वर्षको तुलनामा बढी मूल्य पाएका छन्।
उत्पादनको हिसाबले गत वर्षभन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने रु १ करोड ८६ लाख ५४ हजारले बढेको छ। कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार अघिल्लो वर्ष जिल्लाभर ४,१०० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष घटेर ४,०७१.६ मेट्रिकटनमा झरेको छ।
तर, अघिल्लो वर्ष न्यूनतम मूल्य रु ६० रहेकोमा यस वर्ष बढेर रु ६५ पुगेको हुँदा उत्पादन घट्दा पनि किसानले उचित मूल्य पाएका छन्। अघिल्लो वर्ष रु २४ करोड ६० लाखको सुन्तला उत्पादन भएको थियो।
पछिल्लो समय सुन्तला खेती विस्तार हुँदै गएको भए पनि यस वर्ष समयमा वर्षा नभएको र हिउँदे सिँचाइ पनि पर्याप्त नहुँदा उत्पादनमा कमी आएको सूचना अधिकारीले बताएका छन्। कृषि ज्ञान केन्द्रले सुन्तला उत्पादन गर्ने किसानलाई प्राविधिक सहयोगसहित अनुदान प्रदान गर्दै आएको उनले जनाए।
उनले भने, “अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको छ तर मूल्य भने बढेको छ। किसानले तुलनात्मक रूपमा यस वर्ष घाटा व्यहोर्नु परेको छैन। थोरै भए पनि फाइदा नै लिनुभएको छ। यस वर्ष मूल्य रु ५ ले बढेको हुँदा किसान समस्यामा पर्नु भएको छैन। अझै पनि किसानले सुन्तला बजार पठाइरहनुभएको छ।”
कृषि ज्ञान केन्द्रका अनुसार ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। त्यसमध्ये यस वर्ष ३७७ हेक्टरमा लगाएका बिरुवाले उत्पादन दिएका छन्। जिल्लामा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ।
काठेखोला गाउँपालिकाका किसान लोकनाथ कँडेलले यस वर्ष रु १३ लाख ५० हजार बराबरको सुन्तला उत्पादन गरेको बताएका छन्। गत वर्षको तुलनामा उत्पादनमा कमी आए पनि आम्दानी बढी भएको उनले जनाए। पोहोर साल रु ११ लाख बराबरको सुन्तला बिक्री गरेको उनले जानकारी दिए।
आफ्नो बगैँचामा ३०० बोट सुन्तला रहेको जनाउँदै उनले यस वर्ष २१० बोटमा फल आएको बताए।


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    