काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद उम्मेदवार आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
जनताको भावना र पार्टीभित्र उठेका प्रतिक्रियालाई सम्मान गर्दै उनले समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो नअपनाउने निर्णय गरेका हुन् ।
राजनीतिमा प्रत्यक्ष रूपमा संलग्न नभए पनि देश निर्माणप्रतिको गहिरो चासोका कारण आफू राजनीतिमा आएको शाहले स्पष्ट पारेका छन् ।
आम जनताको चाहनाअनुसार बालेन साह, रवि लामिछाने र कुलमान घिसिङबीच सहकार्य सम्भव होस् भन्ने उद्देश्यले गरिएका प्रयासमा आफू सक्रिय रहेको उनले बताएका छन् ।
सोही योगदानलाई मूल्याङ्कन गर्दै पार्टीभित्रका साथीहरूले आफूलाई समानुपातिक सूचीमा समावेश गरेको भए पनि सुरुदेखि नै प्रत्यक्ष निर्वाचनमार्फत जनतासँग उभिन चाहेको उनको भनाइ छ ।
तर देशव्यापी राजनीतिक अभियान आवश्यक हुने भन्दै समानुपातिक प्रणालीबाट अघि बढ्न सुझाव दिइएकाले उम्मेदवारी दर्ता भएको उनले उल्लेख गरेका छन् ।
यद्यपी, उम्मेदवारी दर्तापछि आएका समाचार, जनताबाट व्यक्त प्रतिक्रिया र पार्टीका साथीहरूको भावनाले आफूलाई आत्ममन्थन गर्न बाध्य बनाएको शाहले जनाएका छन् । ‘सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती भएको अनुभूति भयो,’ उनले भने ।
देश निर्माणका लागि जुनसुकै हैसियतमा रहेर पनि योगदान गर्न तयार रहेको उल्लेख गर्दै शाहले जनताको भावना विपरीत गएर समानुपातिक सूचीमार्फत सांसद बन्न नसक्ने स्पष्ट पारेका छन् । यही कारण उनले औपचारिक रूपमा समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
साथै उनले समानुपातिक सूचीमा रहेका अन्य उम्मेदवारहरूलाई पनि जनभावनाको कदर गर्दै आफ्नो नाम फिर्ता लिन विनम्र आग्रह गरेका छन् ।
शाहले आगामी दिनमा काठमाडौं–५ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने निर्णय स्पष्ट रहेको बताएका छन् । ‘उठ्नुपर्छ, उठ्ने नै हो,’ भन्दै उनले देशभन्दा ठूलो केही नहुने धारणा व्यक्त गरेका छन्।

