Harsamaya
त्रिशाला गुरुङले फिर्ता लिइन् समानुपातिक सूचीबाट नाम
त्रिशाला गुरुङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक बन्दसूचीमा रहेकी गायिका डा. त्रिशाला गुरुङले आफ्नो नाम फिर्ता लिएकी छिन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूमाथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्ने भन्दै नाम फिर्ता लिएको जानकारी दिएकी हुन् ।

'उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय हो । यस अवसरका लागि पार्टी नेतृत्व, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु,' उनले लेखेकी छिन्, 'यद्यपि, गहन आत्म मूल्यांकनपश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु । यस निर्णयको मूल कारण भनेको मेरो पेसागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प हो ।'

पार्टीले आफूमाथि देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्ने उनले बताएकी छिन् । पार्टीको भावी यात्राका लागि उनले शुभकामना पनि व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update