काठमाडौं - बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित व्यवस्था नगरेसम्म तोकिएको समयमा निर्वाचन हुन नसक्ने बताएका छन्। त्यसका लागि सरकारले विश्वासको वातावरण सिर्जना गर्दै जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा उनले जोड दिए।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई लक्षित गर्दै मुख्यमन्त्री बाँनियाले गाँजाको तस्करीमा अफवाह फैलाउने र सिंहदरबार जलाउने जस्ता गतिविधिमा संलग्न तत्वहरूको पछि लाग्ने प्रवृत्तिले देशलाई अनिर्णयको बन्दी बनाउने खतरा बढेको आरोप लगाए।

भदौ २३ र २४ गते सम्पन्न ‘जेन–जी आन्दोलन’पछि गठन भएको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने मिति तय गरेको छ। जलवायु सम्मेलन २०८२ को अवसरमा सिन्धुपाल्चोकको गुफाडाँडा पुगेका मुख्यमन्त्री बाँनियाले सो सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्तिहरू बढ्दै गएको तर्क गर्दै यसप्रति गम्भीर हुनुपर्ने बताए। साथै, मेलम्ची–गुफाडाँडा हुँदै पाँचपोखरी जाने सडक निर्माणका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
मुख्यमन्त्री बाँनियाले विकासलाई कहिल्यै पनि भोटसँग तुलना गर्न नहुने बताउँदै भने, ‘भोटसँग विकास होइन, विकाससँग भोट आफैं जोडिन्छ। त्यसैले नेताहरूले आफ्नो सोच र व्यवहारमा सुधार गर्नुपर्छ।’

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडालाई चियाबगानको रूपमा विकास गरी हिमाल अवलोकन गर्न सकिने पर्यटकीय गन्तव्य बनाइनुपर्नेमा जोड दिए। उनले २०७५ सालमा तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले ‘१० बुँदे घोषणापत्र’ जारी गर्दै दिवस मनाउने कार्यको सुरुवात गरेको स्मरण गर्दै यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी जलवायु विज्ञहरूले जलवायु परिवर्तनका विषयमा गम्भीर विचार–विमर्शको समय आएको उल्लेख गर्दै भविष्यमा जलवायु संरक्षणका लागि साझा धारणा र एकीकृत कार्यक्रम आवश्यक रहेको औँल्याए।

वक्ताहरूले जलवायु परिवर्तन विश्वव्यापी मुद्दा बनेको र नेपाल पनि यस विषयमा पक्षराष्ट्र रहेको उल्लेख गर्दै मानव जीवनशैली वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिए। उनीहरूले गुफाडाँडालाई विपद्का बेला सुरक्षित स्थल तथा पर्यटकीय दृष्टिले उपयुक्त गन्तव्यको रूपमा विकास गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए।
स्थानीयहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध जातीय संस्कृति झल्कने नृत्य तथा झाँकीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
गुफाडाँडामा पटक–पटक आयोजना गरिएका जलवायु सम्मेलन तथा दिवस कार्यक्रमहरूले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको आयोजकहरूले बताएका छन्।

