Harsamaya
उपप्रमुख डङ्गोल भन्छिन्: हेरचाहलाई नमुना सेवाका रूपमा प्रारम्भ गर्ने योजना छ
उपप्रमुख डङ्गोल

काठमाडौँ- ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती भएका महिला लगायत व्यक्तिका लागि विशेष हेरचाह र रेखदेख चाहिएको छ । सुत्केरीपछि जागिरमा फर्किनु पर्ने महिलाहरूका लागि परामर्श चाहिएको छ । 

यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरपालिकाले भित्री सहरी क्षेत्रमा एउटा र बाहिरी सहरमा एउटा ‘नमुना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने योजना बनाएको छ ।

केन्द्रका विषयमा जानकारी दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले भनिन्,‘यस प्रकारको सेवा नयाँ हो । नयाँ काम गर्दा यसका प्रभाव मूल्याङ्कन गर्दै जानुपर्छ । प्रारम्भ गरिएका केन्द्रहरूको प्रभावकारिताका आधारमा सेवा थप गर्ने वा नगर्ने निर्णय गर्न हुनेछ ।’

उनले आज युएन वुमनका प्रतिनिधिहरूसँग हेरचाह सेवाका विषयमा कुराकानी गर्दै यस्तो जानकारी दिए। विश्वमा तीव्र सहरीकरण हुँदै गएपछि सामाजिक संरचना परिवर्तन भएका छन् । यस कारण परिवारको साथ आवश्यक पर्ने समयमा व्यक्तिहरू एक्लै बन्न थालेका छन्।

'यसले सिर्जना गर्ने सामाजिक समस्या बढ्न नदिन हेरचाह र रेखदेखसँग सम्बन्धित सेवाको आवश्यकता बढ्दै गएको छ । हेरचाह र रेखदेखसँग सम्बन्धित कामसँग महिलाहरूको अवस्था र समस्या जोडिने भएकोले यो सेवासँग महिला अधिकार, सशक्तीकरण, दक्षता अभिवृद्धि जस्ता कार्यक्रम जोडिन्छन् । यस्तै रोजगार र आयआर्जनसँग पनि जोडिन्छ । यसप्रति हामी उत्तरदायी भएर काम गरिरहेका छौँ,' उनले भनिन् ।

छलफलमा सहरीकरणले सिर्जना गरेको अवस्थासँगै विद्यमान लैङ्गिक समता र समानताको अवस्था, सोच र यसको रूपान्तरणका सवाल पनि छलफलमा उठाइएका थिए । 

हेरचाह र रेखदेखमा निजी तथा सामुदायिक संघ संस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर  इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) नमुना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा अगाडि बढाउन सकिने सम्भावना छलफलमा उठेको थियो।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update