Harsamaya
राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा कार्यालय स्थापना
फाइल तस्वीरः हर समय/harsamaya

महेन्द्रनगर- मधेस, प्रदेशको राष्ट्रियसभाको निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज सो कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिए।

कार्यालयबाट उम्मेद्वारी दर्ता, मतदान व्यवस्थापन, मतगणना र निर्वाचनसम्बन्धी काम हुने बताइएको छ । सो कार्यालयको  स्थापनापछि मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया अघि बढेको उनले बताए।निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा हाल ३७९ जना मतदाता छन् । ती मतदाताको कूल मतभार १० हजार ८३९ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षहरू समावेश छन् ।

प्रदेश सभातर्फ १०७ सदस्य मतदाता छन् । प्रत्येक प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरिएको छ । यसअनुसार प्रदेशसभा सदस्यतर्फको कूल मतभार पाँच हजार ६७१ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरी २७२ जना मतदाता छन् । उनीहरूको मतभार १९ कायम गरिएको छभने स्थानीय तहका जनप्रतिनिधितर्फको कूल मतभार पाँच हजार १६८ रहेको छ।

हाल मतदाता नामावली अन्तिम चरणमा पुगेको भए पनि केही कानुनी र प्रशासनिक कारणले अन्तिम नामावली प्रकाशित हुन सकेको बताइएको छ । मुख्य निर्वाचन अधिकृत पुरीका अनुसार निर्वाचन आयोगले आगामी १९ गते मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तिम नामावली प्रकाशित भएपछि मात्र मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि यकिन मतदाताको सङ्ख्या र कूल मतभार स्पष्ट हुनेछ ।

आयोगको कार्य तालिकाअनुसार माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुनेछ । 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update