काठमाडौं- नेपाली कांग्रेसले रास्वपा र काठमाडौं महानगरपालिका मेयर बालेन साहबीचको एकताबाट पार्टी नआत्तिएको बताएको छ ।
केन्द्रीय कार्यसम्पादन बैठकपश्चात् पार्टी कार्यालय सानेपामा पत्रकारहरूमाझ प्रवक्ता प्रकाशशरण महतले एकतामा आएका पात्रहरू दाग र प्रश्नरहित नभएको बताए ।
‘यसबाट प्रभाव पर्ने देखेको छैन । उहाँहरू एकदमै दागरहित प्रश्न नभएको व्यक्ति हैन,’ उनले भने, ‘रास्वपा नेता र बालेनजी सबैको बारेमा धेरै ठूलो प्रश्न उठेको छ । नेपाली जनताले मूल्यांकन गरेका छन् ।’
उनले देश चलाउन स्पष्ट नीति, दिशा र अनुभव र देशव्यापी संगठन हुनुपर्ने भन्दै त्यो एकतामा गएका नेता तथा पार्टीसँग नभएको बताए। 'नेपाली कांग्रेस विश्वासिलो पार्टी हो, देशभर जनादेश फैलिएको छ । उहाँहरूमा उठेका प्रश्नहरू गम्भीर छन्,' उनले भने ।
उनले बालेन-रविको मिलनबाट कांग्रेस आत्तिनु पर्ने कारण नभएको पनि बताए। उनले पार्टीले समानुपातिकतर्फको बन्द सूची सोमबार बुझाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फको सूची बनाउने काम गरिरहेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार कांग्रेसले भोलि मात्रै समानुपातिकको बन्द सूची बुझाउने छ ।
‘को कसलाई राख्ने भनेर प्रदेश-प्रदेशका साथीहरू छलफलमा हुनुहुन्छ । त्यसबाट मोटामोटी सूची बनाएर कम्बाइन गरेर परिमार्जन गरेर आयोगमा बुझाउने तयारी छ,’ उनले भने । उनले कांग्रेस अहिले महाधिवेशन भन्दा पनि निर्वाचनमा केन्द्रित भएको जानकारी दिए।

