Harsamaya
संसद् पुनर्स्थापना अहिले हुँदैन, एक ढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने  : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक ।

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन्। 

नेकपा केन्द्रीय कार्यालय, पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा  संयोजक दाहालले अब नेपाली काँग्रेस र नेकपा (एमाले) पनि चुनाव तिरै जाने जिकिर गरे। उनले काँग्रेस र एमालेले सर्वोच्च अदालतमा संसद् पुनर्स्थापना लागि रिट हालेको भए पनि अब निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने बताए । 

अब चुनावको विकल्प नभएको उनको भनाइ थियो। कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले भने, ‘न्यायालयमा पनि जानुभएको छ। तर म तपाईँ सबै र जनतालाई नै भन्न चाहन्छु– कुनै भ्रममा पर्न आवश्यक छैन। संसद् पुनर्स्थापना अहिले हुँदैन। निर्वाचन अब अगाडि आई नै सक्यो।’

निर्वाचनमा नगए देश थप दुर्घटनातिर जाने उनको भनाइ थियो। ‘निर्वाचन नभए थप अन्योल हुन्छ। थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ। अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यता पट्टि आकर्षित गर्न जरुरी छ’, उनले भने। 
 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update