खोटाङ - भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आव्हान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको ६६ करोड बराबरको १२३ आयोजनाको ठेक्का गर्नुपर्ने जनाइएको छ ।
ठेक्का आव्हान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए ।
दश स्थानीय तह रहेको खोटाङमा आव २०८२/८३ का लागि प्रदेश सरकारबाट स्वीकृत भएको एक अर्ब बढीका १६४ आयोजना परेका छन् । पूर्वाधार कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा सडक कालोपत्र, सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माण, आवास, कार्यालय तथा विद्यालय भवन निर्माणलगायत आयोजना छन् ।
कोशी प्रदेश सरकारबाट स्वीकृत आयोजनामध्ये बहुवर्षीय आयोजनाका लागि प्रस्ताव पेस गर्नुपर्नेमा २४ तथा १० बहुवर्षीय आयोजना चालु अवस्थामा रहेको जनाइएको छ । आव २०८२/८३ का लागि ठेक्का आव्हान गरिएका कतिपय आयोजनामा सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता गरेर निर्माणको प्रक्रियासमेत अगाडि बढाइएको कार्यालय प्रमुख दाहालले जानकारी दिए ।
भौतिक पूर्वाधार विकास कार्यालयले जिल्लामा परेका आयोजनाको ठेक्का समयमै आव्हान गरेपछि निर्माण व्यवसायी पनि खुसी बनेका छन् । गत कात्तिक २ गतेदेखि पुस ३ गतेभित्र ११२ वटा आयोजनाका लागि पूर्वाधार कार्यालयले ठेक्का आव्हान गरेपछि निर्माण कम्पनीहरू सम्झौता गर्न भ्याइनभ्याई भएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी आयोजनाका लागि बजेट परेको दाबी गरिएको छ ।

