काठमाडौं - सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ ।
सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज निर्वाचनको माहौल बनाउन तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । समितिले बिहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालय अनुगमनका साथै नेताहरूसँग छलफल गर्ने तालिका रहेको जनाइएको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको हो ।
सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो ।
उक्त टोलीले हिजो मङ्गलवार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर अनुगमनका साथै नेताहरूसँग वार्ता गरेको थियो ।

