काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद असिम शाहले सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको भेटले सुखद सुरुवात गरेको बताएका छन् ।
सोमबार ६ घण्टा लामो भेट गरेका लामिछाने र शाहको मिलन व्यक्तिको मात्रै होइन देशले खोजेको आशाको मिलन भएको बताएका हुन् ।
शाहको कमलपोखरीस्थित कार्यालयमा राति १ बजेसम्म दुई जनाबीच भेटवार्ता भएको थियो । उनीहरूबीच सामूहिक र छुट्टाछुट्टै भेटवार्ता भएको बताइएको छ । भेटमा सुधन गुरुङपनि सँगै रहेका थिए ।
भेटपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपाली लाई बधाई।’
उनीहरूबीच आगामी निर्वाचनमा नयाँ शक्तिहरू सँगै मिलेर जाने सहमति भएको बताइएको छ ।

