Harsamaya
प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच गोप्य भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री सुशीला कार्की ।

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री कार्कीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ उनीहरूबिच गोप्य संवाद भएको हो । 

जेलबाट धरौटीमा रिहा भएपश्चात् पहिलोपटक आइतबार साँझ सभापति लामिछानेसहित रास्वपा टोली बालुवाटार पुगेको थियो । प्रधानमन्त्री कार्की र रास्वपा नेताहरूबीच सुरूवातमा औपचारिक संवाद भएको थियो । उक्त संवाद पश्चात् केही समय प्रम कार्की र सभापति लामिछानेले गोप्य संवाद गरेको स्रोतले बतायो ।

‘करिब २० मिनेट उहाँहरू बिच गोप्य संवाद भयो,’ स्रोतले भन्यो, ‘उक्त छलफलमा प्रधानमन्त्रीको सचिवालय र रास्वपा नेताहरू कसैलाई पनि एक्सीस भएन।’

प्रधानमन्त्री कार्कीलाई भेट्न रास्वपा सभापति लामिछानेसहित उपसभापति स्वर्णीम वाग्ले लगायत नेताहरू शिशिर खनाल, सोभिता गौतम लगायत पुगेका थिए । उनीहरूलाई बाहिरै राखेर रविले प्रधानमन्त्री कार्कीसँग संवाद गरेका थिए। 

‘संवादमा के भयो थाहा भएन । तर, उहाँबीच १५-२० मिनेट गोप्य कुरा भएको हो,’ रास्वपा स्रोतले पनि पुष्टि गर्‍यो । 

औपचारिक संवादमा राजनीतिक भन्दा पनि समसामयिक विषय र निर्वाचन केन्द्रित संवाद भएको थियो । गोप्य संवादमा राजनीतिक र व्यक्तिगत विषयमा कुरा भएको हुन सक्ने स्रोतको अनुमान छ । 

रास्वपाले सभापति लामिछानेमाथि सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको दाबी गर्दै आएको छ । जसमा प्रधानमन्त्री कार्कीको पनि उस्तै मत छ । रास्वपाले पटक पटक प्रधानमन्त्री कार्कीलाई रविमाथि भएको राजनीतिक प्रतिशोधमा न्याय गर्दिनुपर्ने विषय उठाउँदै आएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update