Harsamaya
बंगलादेशमा विद्यार्थी नेताको हत्यारालाई पक्राउ गर्न आन्दोलनकारीको माग
सरिफ उस्मान हादी ।

एजेन्सी - गत वर्षको विद्यार्थी आन्दोलनका एक प्रमुख व्यक्तिलाई गोली हानेर हत्या गर्ने बन्दुकधारीहरूलाई पक्राउ गर्न माग गर्दै प्रदर्शनकारीहरूले शुक्रबार लगातार दोस्रो दिन बङ्गलादेशभर र्‍याली निकालेका छन् ।

बिहीबार ३२ वर्षीय विद्यार्थी नेता सरिफ उस्मान हादीको सिङ्गापुरस्थित अस्पतालमा निधन भएको खबर सार्वजनिक भएपछि शोकमग्न भीड सडकमा उत्रिएको थियो ।

बङ्गलादेशको अपदस्थ नेतृत्वको पुरानो सहयोगी भारतलाई समर्थन गर्ने सञ्चारमाध्यमको कार्यालयलगायत कैयौँ भवनहरू तोडफोड गरिएको थियो।

भारतका कट्टर आलोचक हादीलाई गत साता राजधानी ढाकास्थित एक मस्जिदबाट निस्कने क्रममा बन्दुकधारीले गोली हानी गम्भीर घाइते बनाएका थिए । उनको उपचार स्वदेशमा सम्भव नभएपछि सिंगापुर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

शुक्रबार ढाकामा प्रदर्शनकारी साजिद अल अदीबले एएफपीसँग भने, ‘हादीको हत्या गर्नेहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै मानिसहरू यहाँ भेला भएका छन्।’

हत्याराहरू ‘हाल भारतमा रहेको’ दाबी २० वर्षीय छात्र अदीबले गरेका छन् । नयाँ दिल्लीले भने यस सम्बन्धमा तत्काल कुनै टिप्पणी गरेको छैन।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update