Harsamaya
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईं ।

काठमाडौं - नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण समारोहमा बोल्दै मन्त्री चौलागाईंले सरकारले ‘जेनजी आन्दोलन’ लाई संस्थागत गरिसकेको उल्लेख गर्दै कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए ।

उनले उक्त राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरी नियमित सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

मन्त्री चौलागाईंले भने, ‘कर्णालीको स्प्रिडलाई देशको विकासमा कसरी रूपान्तरण गर्ने भन्नेमा हामीले गम्भीर रूपमा सोच्नुपर्छ । जेनजीहरुको परिवर्तनमा ठूलो भूमिका छ । आन्दोलनको अग्रपङ्ति र घाइतेमा पनि कर्णालीका जेनजीहरु बढी छन् । कर्णाली उठ्यो भने देश पनि उठ्छ ।’

उनले प्रदेशस्तरका चुनौती समाधान र राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update