Harsamaya
यस्तो छ सरकार र जेनजीबीच भएको १० बुँदे सहमति
बैठक

काठमाडौं- नेपाल सरकार र 'जेनजी'आन्दोलनका प्रतिनिधिहरूबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

भदौ २३ र २४ गते भएको जनआन्दोलनले उठाएका मागहरू सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षबीच १० बुँदे विस्तृत सम्झौता भएको हो।

सहमतिपत्रमा मुख्यतया सहिद परिवारको व्यवस्थापन, निर्वाचन प्रणालीमा सुधार, संविधान संशोधन र भ्रष्टाचार नियन्त्रणका विषयहरू समेटिएका छन्।

सहमतिपत्रका मुख्य बुँदाहरू यसप्रकार छन्:
१. सहिद घोषणा र राहत
आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूलाई सहिद घोषणा गरिनेछ। सहिद परिवार र घाइतेहरूको निःशुल्क उपचार, क्षतिपूर्ति, शिक्षा, रोजगारी तथा सामाजिक सुरक्षाको जिम्मा राज्यले लिनेछ।
२. घटनाको उच्चस्तरीय छानबिन
भदौ २३ र २४ गते भएको दमन र हिंसाको निष्पक्ष छानबिन गर्न एक उच्चस्तरीय आयोग गठन गरिनेछ। बल प्रयोग गर्ने र मानवअधिकार उल्लङ्घन गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याइनेछ।
३. भ्रष्टाचार र दलीयकरणको अन्त्य
सार्वजनिक संस्थाहरूमा हुने दलीय भागबन्डा र नियुक्ति अन्त्य गर्न आयोग गठन गरिनेछ। राजनीतिक दल र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरिनेछ।
४. निर्वाचन प्रणालीमा व्यापक सुधार
नो भोट : मतपत्रमा कसैलाई पनि भोट दिन्न भन्ने विकल्प राखिनेछ।
विदेशबाट मतदान: विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गरिनेछ।
प्राइमरी इलेक्सन: दलभित्र उम्मेदवार छान्न आन्तरिक प्रतिस्पर्धा  अनिवार्य गरिनेछ।
उम्मेदवारको योग्यता: २१ वर्ष पूरा भएको नेपाली नागरिक उम्मेदवार बन्न पाउने व्यवस्था गरिनेछ।
५. संविधान संशोधन सुझाव आयोग
संविधानमा आवश्यक सुधार गर्न एक उच्चस्तरीय 'संविधान संशोधन सुझाव आयोग' गठन गरिनेछ। यस आयोगले निम्न विषयमा सुझाव दिनेछ:
प्रधानमन्त्री र मन्त्रीको कार्यकाल अधिकतम २ पटक मात्र हुन पाउने।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था।
न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने।
पूर्ण समानुपातिक र समावेशी संसद।
६. डिजिटल स्वतन्त्रता
इन्टरनेट र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने छैन। डिजिटल माध्यमलाई नागरिकको अभिव्यक्तिको वैधानिक माध्यम मानिनेछ। डेटा गोपनीयताको सुनिश्चितता गरिनेछ।
७. समावेशिता
सहमति बमोजिम बन्ने सबै संयन्त्रमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति लगायतको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरिनेछ।
८. जेनजी परिषद् गठन
सुशासन र युवा सरोकारका विषयमा सरकारलाई सल्लाह र सुझाव दिन एक 'जेनजी परिषद्' गठन गरिनेछ।
९. पारदर्शिता
सरकारका निर्णय, खर्च र काम कारबाही पूर्ण रूपमा पारदर्शी बनाइनेछ। सूचना प्रविधिको प्रयोग गरी जनतालाई सहज सूचना पहुँच दिइनेछ।
१०. तत्काल कार्यान्वयन
यो सम्झौता हस्ताक्षर भएको मितिदेखि नै लागू हुनेछ।
कार्यक्रममा केही सहभागीहरूले असन्तुष्टि व्यक्त गर्दै होहल्ला गरे पनि सहमतिपत्रमा सरकार र आन्दोलन पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update