कविता : आशाको पंखले आकाश छुनु छ
आशाको सुनौलो बिहान बनाउँछु,
रातको अँध्यारो चिर्दै,
भरोसाले बाँध्छु मनको डोरी,
हरेक कदममा,
आफूले आफैंलाई साथ दिने वाचा गरी ।
सफलताले कहिले फूलझैँ मुस्कान छोड्छ,
कहिले थाकेका पाइलालाई अगाडि बढाउँछ,
असफलता मेरो गुरु,
उसकै पाठले म बनाउँछु जिन्दगीको नयाँ उडान ।
आशा र भरोसालाई समेटेर,
म बनाउँछु मेरो जिन्दगीको पर्खाल,
त्यसभित्रै अटाउँछु माया, करुणा र इमान्दारिता।
जीवनको हरेक मोडमा म सिक्छु,
म भुल्छु, म लड्छु अनि,म फेरि उठ्छु,
किनकि,
ऊ परसम्मको असफलतालाई भरोसाको ज्योतिले पन्छाउँदैं
मलाई आशाको पंखले आकाश छुनु छ ।
- करुणा शर्मा
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२ ०८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

